कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको हो । बुधबार बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको यस विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।
राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको हो।
रोक्का हुनुअघि बैंकको सेयर मूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। नेपाल राष्ट्र बैंकले व्यवस्थापन समूहलाई बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिने, संस्थामा भएका वित्तीय अपचलनमाथि आवश्यक छानबिन गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अधिकार प्रदान गरेको छ।



प्रतिकृया