नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष तथा सञ्चालकहरुलाई बर्खास्त गर्ने सम्बन्धमा पुनः सफाइ पेस गर्न ताकेता गरेको छ। केन्द्रीय बैंकले गत वर्ष पुस १० गते राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम उक्त बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्दै दफा ८६ग अनुसार अर्को व्यवस्था नभएसम्मका लागि बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो।
राष्ट्र बैंकले शनिबार प्रकाशित सूचनामार्फत तत्कालीन अध्यक्ष डा. ओमप्रकाश मिश्र तथा सञ्चालकहरु युवराज अधिकारी, उषाकुमारी भण्डारी, टंकबहादुर बस्नेत र निसार अहमद दर्जीलाई बर्खास्तसम्बन्धी कारबाही अघि बढाउनुअघि पुनः सफाइ तथा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। यसअघि गत असोज २८ गते सोधिएको स्पष्टीकरणमा उनीहरुले कुनै जवाफ नदिएको जनाइएको छ।
अब १० दिनभित्र आफूहरुलाई बर्खास्त गर्नु नपर्ने कारणसहितको लिखित सफाइ पेस गर्न समयसीमा दिइएको छ। उनीहरुले आफ्नो स्पष्टीकरण काठमाडौंको बालुवाटारस्थित केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, नेपालगन्जस्थित राष्ट्र बैंकको कार्यालय वा नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्था समूहमा पेस गर्न सक्नेछन्।


प्रतिकृया