लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सुपर मादी हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
सुपर मादी हाइड्रोपावर लिमिटेडले १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेबाट सभा गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।
बोनस सेयर वितरणपछि कायम हुने २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ चुक्तापूँजीका आधारमा २ः१ अनुपातमा १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।
सो अवसरमा अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरिनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
यस अनुसार नेप्सेमा मंसिर १६ गतेसम्म कारोबार गरी नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांशका लागि योग्य हुनेछन्।





