४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनामा जुट्यो ७० अर्ब ७ करोड लगानी

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र २ गते
४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनामा जुट्यो ७० अर्ब ७ करोड लगानी
AdvertisementAds

कर्णालीको कालिकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि ७० अर्ब ७ करोड रुपैयाँ लगानी जुटेको छ। तिला पावर कम्पनीले एभरेस्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता गरेसँगै आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको हो।

कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ। सहअगुवामा सानिमा बैंक तथा अन्य सहभागी बैंकमा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन्।

आयोजनाअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत्गृह निर्माण हुनेछ। अर्धजलाशययुक्त पीआरओआर प्रकृतिको आयोजनालाई दैनिक ६ घण्टासम्म पिकिङ क्षमतामा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

आयोजनाबाट वार्षिक २,३१८.७९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। यसमध्ये सुख्खायामको पिक समयमा ४५१.०५ गिगावाट घण्टा, अफपिक समयमा २०५.४५ गिगावाट घण्टा र वर्षायाममा १,६६२.२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।

तिला–२ ले ७ भदौ २०७५ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाइसकेको छ। यस्तै, ७ कात्तिक २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।

AdvertisementAds

आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसएलगायत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स