शेखर कोइराला भन्छन्, “११ भाइ देउवाकोमा जाँदैमा केही फरक पर्दैन म सभापतिमा उठ्छु”
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। बिहीबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै उनले भने, “१५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ, यसका लागि पार्टीका कार्यकर्ताले दबाब सिर्जना गर्नुपर्छ।”
उनले पार्टीको विधान र संविधानको व्यवस्था अनुसार महाधिवेशनको मिति मंसिरमै तय गरिएको उल्लेख गर्दै भने, “विधानले १ वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था गरेको छ, त्यसमा समन्वय गर्नुपर्छ। तर, यदि महाधिवेशन २०८४ को चुनावपछि भयो भने काँग्रेसको अवस्था नाजुक हुन सक्छ।”
कोइरालाले १५ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने आफ्नो निर्णय पुन: दोहोर्याए। उनले भने, “मैले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको छु, र ११ भाइको सक्रियताले मेरो उम्मेदवारीमा कुनै फरक नपर्ने कुरा स्पष्ट छ।”
यसअघि, पार्टी सभापति शेरबहादुर देउवा निकटका ११ नेताले १५ औं महाधिवेशनको रणनीतिबारे छलफल गरेका थिए, जसमा कोइरालाले भने, “१४ औं महाधिवेशनमा पनि ११ भाइहरूले देउवालाई समर्थन गरेका थिए। त्यसको आधारमा १५ औं महाधिवेशनमा फरक केही पर्ने छैन।”
कोइरालाले १५ औं महाधिवेशनको मिति पछि सार्न नहुने कुरा पुन: जोड दिएका छन्। “महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ, र यदि कुनै अप्ठ्यारो परेको खण्डमा ६ महिना थप्ने व्यवस्था छ। तर चुनाव पछि महाधिवेशन भएमा पार्टीको अवस्था गम्भीर बन्न सक्छ,” उनले भने।