सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा आवश्यक हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थ खरिदमा प्रयोग गरिनेछ।
यस साझेदारीले सानिमा बैंकको ट्रेड फाइनान्स सेवालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टका लगानी निर्देशक एडमिर इमामीले हस्ताक्षर गरेका छन्।
नेपालको ऊर्जा आवश्यकतामा योगदान पुर्याउँदै दिगो उर्जा स्रोतहरू परिचालन गर्ने लक्ष्यसहित गरिएको यस सम्झौताले फोसिल फ्यूलमा निर्भरता घटाउन तथा जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ। सानिमा बैंकले स्वच्छ उर्जा परियोजनाहरूलाई प्रवर्द्धन गर्दै स्थानीय समुदायमा दीर्घकालीन सकारात्मक प्रभावहरू सिर्जना गर्ने रणनीति लिएको छ।
हाल सानिमा बैंकका देशभर ७ प्रदेशमा १३४ शाखा कार्यालयहरू तथा १२६ एटीएम सञ्चालनमा रहेका छन्।













प्रतिकृया