सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड (Allotment) सम्पन्न गरेर अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ।
अब दोस्रो बजारमा यसको कारोबार पनि सुरु हुँदैछ। कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
लगानीकर्ताका लागि यो कम्पनी कस्तो छ? यसको वित्तीय अवस्था र भावी सम्भावना के छ? आउनुहोस्, आजको भिडियोमा हामी सानिगाड हाइड्रोको चिरफार गरौँ।
सुरुमा कुरा गरौँ कम्पनी बारे ।
वि.सं. २०६४ साल पुस ५ गते प्राइभेट लिमिटेडको रूपमा दर्ता भई २०७८ सालमा पब्लिक लिमिटेडमा परिणत भएको यो कम्पनी निजी क्षेत्रका परिचित उद्यमीहरूद्वारा प्रवर्द्धित कम्पनी हो।
कम्पनीले बझाङ जिल्लाको बुंगल नगरपालिकामा ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल फागुन ६ गतेदेखि नै व्यावसायिक रूपमा विद्युत उत्पादन गर्दै आएको छ।
यो आयोजना २०७९ असोज १३ मै सकिनुपर्ने थियो, तर नाकाबन्दी, कोभिड महामारी र कठिन भूगोलले गर्दा ५ महिना ढिलो अर्थात् फागुन ६ गते मात्रै सम्पन्न भयो।
यस आयोजनाको अनुमानित लागत ६ अर्ब ३२ करोड थियो। निर्माण कार्य सम्पन्न गरेर ब्यबसायिक उत्पादन सुरु गर्दा आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ पुगेको छ। जसकारण प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। जुन अन्य आयोजनाहरुको तुलनामा औषतनै देखिन्छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ। भने विद्युत अनुमतिपत्र २५ वर्ष ३ महिना बाँकी रहेको छ।
अब कुरा गरौ आयोजनाको समय र लागत सुरुवाती अनुमानभन्दा किन बढ्यो त?
कम्पनीका अनुशार सुरुङ निर्माण गर्ने क्रममा पटक-पटक जमिनभित्र भेटिएका खाली भागहरूलाई मर्मत गर्न समय लाग्नु, सुदूरपश्चिम क्षेत्रमा गएका मध्यम तथा साना भूकम्पका कारण सडक र पहुँच मार्गहरू अवरुद्ध हुँदा आयोजनाले प्रत्यक्ष र अप्रत्यक्ष क्षति व्यहोर्नु, सुरुवाती डिजाइनमा भएको परिवर्तन, कोभिड-१९ को लकडाउन, बेमौसमी बाढीपहिरो र ट्रान्समिसन लाइनको डिजाइन परिवर्तन जस्ता कारणले निर्माण अवधि र लागत लम्बिन पुगेको हो।
यही ढिलाइले गर्दा कम्पनीलाई सबैभन्दा ठुलो वित्तीय धक्का निर्माण अवधिको ब्याजमा लागेको छ। सुरुमा ब्याज बापत जम्मा ५६ करोड ८५ लाख लाग्ने अनुमान गरिएकोमा आयोजना लम्बिएपछि र बैंकको ब्याजदर बढेपछि यो खर्च २२४ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ५२ लाख रुपैयाँ पुगेको छ। जसले आयोजनको निर्माण लागत बढाएको हो।
यस्तै, कम्पनीको ऋण र स्वपूँजीको अनुपात ७५:२५ छ, जसको अर्थ आयोजना मुख्य रूपमा बैंकको ऋणबाट वित्तपोषण गरिएको छ। वित्तीय भाषामा यसलाई ‘हाइली लिभरेज्ड’ भनिन्छ। यस्तो संरचनामा नाफा हुँदा शेयरधनीको प्रतिफल बढ्न सक्छ, तर आम्दानी घट्दा वा अपेक्षाभन्दा कम हुँदा ऋणको भारका कारण जोखिम पनि उल्लेखनीय रूपमा बढ्छ।
पछिल्लो समय धेरै हाइड्रोपावरहरूले बाढीपहिरोको कारण समस्या भोगीरहँदा, सानिगाडमा भने २०७९ सालमा बिजुली बल्न थालेपछि हालसम्म प्राकृतिक प्रकोपबाट कुनै पनि भौतिक क्षति भएको छैन। यो लगानीकर्ताका लागि ठुलो एउटा राम्रो पक्ष हो। यद्यपि प्राकृतिक प्रकोपको कुनै ठेगान भने हुदैन।
जलविद्युत आयोजनाहरूमा प्राकृतिक विपत्तिको जोखिम सधैँ उच्च रहने हुनाले सानिगाड हाइड्रोले यसलाई न्यूनीकरण गर्न युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत निकै ठुलो रकमको बीमा गराएको छ।
कम्पनीले ६ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ को Loss of Profit बिमा र १ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँको सम्पत्ति बीमा गरेको छ।
अब कुरा गरौ कम्पनीले आइपिओ जारी गरेर उठाएको पैसा के मा खर्च गर्छ भन्ने ?
कम्पनीले आइपिओ जारी गरेर ८५ करोड ५० लाख रुपैयाँ उठाएको छ। यो रकम रूपमा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ। जसमध्ये १८ करोड ५ लाख रुपैयाँ बैंकको ऋण र ६७ करोड ४५ लाख रुपैयाँ आवधिक ऋण (Term Loan) चुक्ता गर्न उपयोग हुनेछ।
कम्पनीले आयोजना बनाउन ७ वटा बैंकबाट जम्मा रु. ७ अर्ब ६० लाख ऋण लिएको थियो । २०८२ पुस मसान्तसम्म आइपुग्दा कम्पनीले भर्खर रु. ७९ करोड १० लाख मात्र चुक्ता गर्न सकेको छ । अर्थात्, अझै पनि कम्पनीको टाउकोमा रु. ६ अर्ब २१ करोड ५३ लाख ऋण तिर्न बाँकी नै छ।
६ अर्बभन्दा बढीको यो ऋण भने कम्पनीले चरणबद्ध रुपमा तिर्दै जानेछ।
दीर्घकालीन कर्जा १, २ र ३ कम्पनीले १२ वर्षको अबधिमा चुक्ता गर्नेछ। भने दीर्घकालीन कर्जा ४ र ५ चुक्ता गर्न १५ वर्षको समय तोकिएको छ
यस्तै मध्यमकालीन कर्जा भने आगामी ५ वर्षभित्र चुक्ता गरिसक्नुपर्नेछ। कम्पनीले ६० वटा किस्ताको तालिका बनाएर सावाँ र ब्याज तिरिरहनेछ ।
कम्पनीले माथिल्लो कालंगागाड जलविद्युत आयोजना बाट वार्षिक रूपमा २१ करोड ९३ लाख ९० हजार १८ युनिट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ।
यसमध्ये सुख्खा याममा ३ करोड ९० लाख ७१ हजार ३० युनिट र वर्षा याममा १८ करोड ३ लाख १८ हजार ९८८ युनिट बिजुली उत्पादन हुने प्रक्षेपण छ। नेपाल विद्युत प्राधिकरणसँग यसको ‘टेक अर पे’ सम्झौता छ।
सुक्खा याममा आयोजना संचालनको Efficiency बढाउँन ‘दारिम गाड सानो जलविद्युत आयोजना’ बाट बिजुली निकालेर निस्किएको पानीलाई पनि यसै आयोजनामा मिसाइएको छ, जसले गर्दा नदीमा पानी कम हुने सुख्खा याममा पनि उत्पादन बढाउन मद्दत पुग्छ।
हाल आयोजना पूर्ण क्षमतामा संचालन हुन सकेको छ। २०८२ वैशाखमा ९३.८२%, असारमा ९८.३६%, साउनमा ९७.६३% र भदौ महिना १००.०६% बिजुली उत्पादन भएको छ। यस्तै मङ्सिरमा ७७.९२% र पुषमा ७८.०१ % उत्पादन भएको छ।
विद्युत प्राधिकरण संगको सम्झौता अनुशर कम्पनीले सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ९० पैसा र वर्षा याममा ५ रुपैयाँ ९ पैसा पाउँछ।
विद्युत प्राधिकरणसँग व्यापारिक उत्पादन सुरु भएको एक वर्ष पुगेपछि प्रत्येक वर्ष कम्पनीले ३ प्रतिशतका दरले ८ पटकसम्म बिजुलीको मूल्य बढाउन पाउने सम्झौता छ। ८ पटकको यो वृद्धि पूरा भएपछि सुख्खा यामको मूल्य रु. १०.४२ र वर्षा यामको मूल्य रु. ५.९५ पुग्नेछ।
अब कुरा गरौँ कम्पनीको वित्तीय अवस्थाको
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा २६ करोड ३७ लाख ५८ हजार रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४० करोड ४४ लाख ७८ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ १९ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
कम्पनीले आर्थिक बर्ष ०८४/८५ मा भने चुक्ता पुँजीको १०% लाभांश बाँड्ने योजना बनाएको छ।
सानिगाड हाइड्रोमा देशका स्थापित व्यापारिक घराना र संस्थाहरूको ठुलो लगानी छ। यसमा शिव शंकर हाइड्रो इन्भेस्टमेन्टको १६.५७ प्रतिशत, अल्फा प्लस भिजन फन्डको १२.५३ प्रतिशत, सानिगाड हाइड्रो इन्भेस्टमेन्टको ११.७० प्रतिशत, जलाञ्जली इन्भेस्टमेन्टको १०.१९ प्रतिशत र वरुण इन्भेस्टमेन्टको ९.९२ प्रतिशत शेयर स्वामित्व रहेको छ।
यसबाहेक प्रभु महालक्ष्मी इन्स्योरेन्स, सुदूरपश्चिम एनआरएन इन्भेस्टमेन्ट फन्ड, एभरेस्ट ग्यास, प्राइमा ग्यास, र त्रिशुल ग्यास उद्योग लगायतका संस्थाहरूको लगानी छ।
यस कम्पनीको व्यवस्थापन हाँक्ने टिमका लागि हाइड्रोपावर क्षेत्र नयाँ होइन। यसअघि कालंगा हाइड्रो, बुंगल हाइड्रो र पाँचथर पावर कम्पनी जस्ता आयोजनाहरूको संचालक रहेको यो टिमसँग जलविद्युत क्षेत्रको एउटा बलियो चेन र अनुभव छ।
कम्पनीको संचालक समितिमा कर्पोरेट क्षेत्रका हेभीवेट व्यक्तिहरू रहेका छन्। अध्यक्ष उमेश श्रेष्ठ लिटिल एञ्जल्स स्कूलका संस्थापक, प्राइम कमर्सियल बैंकका पूर्व अध्यक्ष हुन्। श्रेष्ठ संग ८ लाख ९७ हजार २५० कित्ता सेयर छ।
त्यस्तै प्रबन्ध सञ्चालक राजेश कुमार श्रेष्ठ सेञ्चुरी कमर्सियल बैंकका पूर्व अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसनका पूर्व सञ्चालक हुन्। राजेश कुमार श्रेष्ठसंग ४ लाख ४ हजार ५०६ कित्ता सेयर छ।
बोर्डका अन्य सञ्चालकहरूमा सुदिप घिमिरे र नवीन बोहरा छन्। व्यवस्थापनमा स्नातकोत्तर गरेका सुदिप घिमिरे एभरेस्ट ग्यास उद्योग र नेपा पेट्रोलियम जस्ता ठुला व्यावसायिक संस्थामा आबद्ध छन्। घिमिरे सँग ४ लाख ६७ हजार १२० कित्ता सेयर छ।
एमबीए गरेका अर्का युवा सञ्चालक नवीन बोहरा शिव लजिस्टिक्सका प्रबन्ध सञ्चालक हुन्। बोहरासँग ३ लाख ३७ हजार ५०० कित्ता सेयर रहेको छ।
यसरी बैंक, व्यवसाय र जलविद्युत क्षेत्रमै लामो समय काम गरिसकेका व्यक्तिहरू व्यवस्थापनमा हुनुले कम्पनीको आर्थिक अनुशासन र कर्जा व्यवस्थापन बलियो रहने देखिन्छ।
क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी [ICRANP-IR] BB- माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिकृया