राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सदस्यहरू मार्फत सर्वसाधारणसँग विशेष नागरिक करार जारी गरेको छ। पार्टीका अनुसार, करारमार्फत पार्टीले नागरिकहरूको “मत” लाई लगानीको रूपमा स्वीकार्दै आगामी पाँच वर्षभित्र देशलाई बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समावेशीता, धार्मिक-सांस्कृतिक विविधता संरक्षण र आर्थिक समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
करारमा प्राथमिकताका रूपमा पाँच मुख्य बुँदा उल्लेख गरिएको छ। पहिलो, सदाचार र असल शासनको लागि दलीयकरण र भ्रष्टाचारको अन्त्य गर्दै सरकारी सेवा प्रणालीमा डिजिटल ट्रान्सपरेन्सी र व्यापक सुधार गर्ने योजना रहेको छ। दोस्रो, मध्यम वर्गीय विस्तार र आमूल सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा र वित्तीय पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
तेस्रो, बेरोजगारी कम गर्दै १२ लाख नयाँ रोजगार सिर्जना गर्ने, विशेषगरी आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा क्षेत्रमा अवसर प्रदान गर्ने योजना छ। चौथो, कनेक्टिभिटी सुधार गर्दै १५ हजार मेगावाट विद्युत् क्षमता, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र उच्च गति इन्टरनेट पहुँच सुनिश्चित गर्ने लक्ष्य छ। पाँचौं, प्रवासमा रहेका नेपालीहरूको मताधिकार र नागरिकता सुनिश्चित गर्दै सुरक्षित लगानी र सम्मानित वैदेशिक रोजगारीको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीले नागरिकलाई आश्वासन दिँदै, करारमा उल्लेखित प्रतिबद्धता पाँच वर्षभित्र पूरा नगरेमा राजनीतिक नैतिकता र पदअनुसार आगामी निर्वाचनमा सजाय भोग्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले करारमा भनिएको वाचा “काबु बाहिरको परिस्थिति बाहेक पूरा गर्न नसकिने वाचा बाँड्दैनौ, तर तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौँ” भनी औपचारिक रूपमा पुष्टि गरेको छ।


प्रतिकृया