प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको साझा समृद्धिका लागि बीआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) परियोजनालाई महत्वपूर्ण मान्दै यसलाई नेपालमा कार्यान्वयन गर्नुपर्ने कुरा स्पष्ट पारेका छन्। चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु अघि चाइना मिडिया ग्रुप (सीएमजी)लाई दिएको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अरू देशहरूको साझा विकास वृद्धि गर्नु रहेको बताउँदै यस परियोजना नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका छन्।
“चीनबाट प्रस्तुत यो (बीआरआई) प्रस्ताव निकै राम्रो र महत्त्वपूर्ण छ। धेरै देशहरूले यसलाई स्वागत गरेका छन्। नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,” उनले भने।
सीएमजीको नेपाली संस्करणमा शनिबार सार्वजनिक गरिएको भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य पूरा गर्न ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन्।
“डिसेम्बर ३ तारिखमा राष्ट्राध्यक्ष सी चिनफिङसँग भएका वार्तामा हामीले द्विपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गरेका थियौं। वार्ता रमाइलो र फलदायी थियो,” उनले भने।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। यो सम्झौतासँग जोडिएका विभिन्न परियोजनाहरू कार्यान्वयनमा जानेछन्। ओलीका अनुसार, “यो सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने छ।”
उनले तेस्रो पटक चीन भ्रमण गरेपछि यो भ्रमण निकै सफल र फलदायी भएको बताए।
















प्रतिकृया