काभ्रेको बनेपामा निर्माण हुने अत्याधुनिक इन्डोर छायांकन स्टुडियो ‘सिनेपा’ को निर्माण सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित विशेष कार्यक्रममा यसको औपचारिक उद्घोष गरेका हुन्।
प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणलाई नेपाली चलचित्र क्षेत्रका लागि “एक प्रकारको क्रान्ति” भन्दै स्वागत गरे। उनले भने, “छ दशकदेखि उठ्दै आएको माग आज साकार हुँदैछ। सिने क्षेत्रको लागि यो युग परिवर्तनको सुरुवात हो।”
प्रधानमन्त्रीका अनुसार, पहिलो कार्यकालमै उक्त स्टुडियो निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनका कारण परियोजना अघि बढ्न सकेको थिएन। अहिले भने सरकारले बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। “त्यसबेला जस्तो अहिले ढुकुटीमा पैसा छैन, तर थालेका काम पूरा गर्छौं,” उनले स्पष्ट पारे।
उनले वर्तमान अर्थतन्त्रको सन्दर्भमा पनि टिप्पणी गरे। “हामीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएका छौँ। अब यो अर्थतन्त्र त्रिशूलीमा खस्दैन,” उनले दाबी गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिनासम्बन्धी विषयमा गम्भीर चासो व्यक्त गर्दै सञ्चारमन्त्री र सचिवलाई हप्ता–दश दिनभित्र छानबिन प्रतिवेदन बुझाउन निर्देशन दिए। “जग्गा हिनामिना भएको छ भने कानुनी कारबाही हुन्छ,” उनले चेतावनी दिए।
राजनीतिलाई अभिनयको माध्यम होइन, यथार्थमा परिवर्तन ल्याउने साधनको रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले चलचित्र क्षेत्रप्रतिको सरकारी सहयोग निरन्तर रहने बताए।
सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति थियो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया