प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि कम्बोडियामा लगानी गरेको भनी गलत हल्ला फैलाएको आरोप लगाएका छन्।
आइतबार आयोजित एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले, कम्युनिस्ट पार्टी एकतापछि प्रचण्डलगायतका नेताहरूले निरन्तर आफूलाई निशाना बनाएको उल्लेख गरे।
उनले भने, “कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति प्रचण्ड हुन्। त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनाल हुन्।” तर, उनले प्रचण्डले कहिले र कहाँ यस्तो आरोप लगाएको हो भन्नेबारे खुलासा गरेनन्।
ओलीले एमालेको नेतृत्वमा रहेका बेला नेपाल र खनालको कार्यशैलीका कारण पार्टी सुचारु रूपमा चल्न नसकेको आरोप पनि लगाए। “पछिसम्म पार्टी कब्जामा लिएर बस्न खोजे,” उनले भने, “हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्वलाई विस्थापित गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा बोकेर पार्टीलाई अगाडि बढायौं। तर, उनीहरूलाई यो कुरा चित्त बुझेन र हामीविरुद्ध षड्यन्त्रमा लागे।”
कार्यक्रमको अन्त्यतिर प्रधानमन्त्री ओलीले सबै जनप्रतिनिधिहरूलाई २०८४ सालको निर्वाचनमा एमालेलाई स्पष्ट बहुमत दिलाउने ‘मिसन २०८४’ मा जुट्न आह्वान गरे।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया