विपक्षी दल भन्छ, “सरकारले साना दलको आवाज कमजोर पार्न खोज्यो”
प्रतिपक्षी दलहरूले सरकारले थ्रेसहोल्ड बढाएर साना दलहरूको आवाज दबाउन खोजेको निष्कर्ष निकालेका छन्। आज बसेको विपक्षी ६ दलको बैठकले सरकार दुई दलीय व्यवस्थाको दिशामा अगाडि बढ्न खोजेको ठहर गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
उनका अनुसार, दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने योजना बनाउँदै साना दलहरूको आवाज कमजोर पार्न, जनताको सहभागिता सीमित गर्न, र लोकतन्त्रको समावेशी स्वरूपलाई क्षति पुर्याउने प्रयास भइरहेको छ। ‘लोकतन्त्रको सुन्दरता समावेशितामा छ,’ पुनले भने, ‘तर सरकारले यसलाई कमजोर बनाएर दुई दलीय व्यवस्थाको दिशा लिँदैछ, जुन लोकतन्त्रको मर्मविपरीत छ।’
बैठकले साझा धारणा सार्वजनिक गर्नका लागि माओवादीका उपमहासचिव पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल सम्मिलित अनौपचारिक ड्राफ्ट कमिटी गठन गरेको छ। कमिटीले आज साँझसम्म आफ्नो काम सम्पन्न गरी भोलि नै धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
त्यसैगरी, सरकारले संसदलाई बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले अध्यादेशमार्फत शासन गर्न खोजेको भन्दै विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने चेतावनी दिएका छन्। पुनले भने, ‘दुई ठूला पार्टी मिलेर गणितीय हिसाबले सजिलो अवस्थामा रहेको भन्दै जनभावना विपरीतका गतिविधि भइरहेका छन्, जुन स्वीकार्य छैन।’