नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा, पाँच वर्षसम्म कार्ड शुल्क छुट
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधानको रूपमा एनआईएमबी युनियन–पे कार्ड सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ।यस कार्डमार्फत ग्राहकहरूले देशभित्र र विदेशमा सहज, सुरक्षित र भरपर्दो कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौं व्यापारी केन्द्र र एटीएमले स्वीकार गर्ने यस कार्डले भुक्तानी, अनलाइन कारोबार र अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल बनाउने बैंकले जनाएको छ।
औपचारिक शुभारम्भको अवसरमा बैंकले एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने विशेष प्रारम्भिक अभियान समेत सञ्चालन गरेको छ। सीमित अवधिका लागि उपलब्ध यस अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्।
बैंकले यस कार्ड शुभारम्भमार्फत डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै, ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। हाल बैंकसँग २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ सेवाहरू उपलब्ध छन्।





