instainsta

देशमा उद्यमशीलताको वातावरण बनाउन उद्योगमन्त्रीसँग नाडाको माग: मन्त्रीले भने, ‘खुला अर्थतन्त्रमा ७०० प्रतिशतसम्म नाफा लिन सकिन्छ’

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
देशमा उद्यमशीलताको वातावरण बनाउन उद्योगमन्त्रीसँग नाडाको माग: मन्त्रीले भने, ‘खुला अर्थतन्त्रमा ७०० प्रतिशतसम्म नाफा लिन सकिन्छ’
AdvertisementAds

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले देशमा उद्यमशिलताको प्रवर्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग विशेष आग्रह गरेको छ। मंगलबार अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडाको प्रतिनिधिमण्डलले मन्त्री भण्डारीलाई भेटी स्वदेशमै उद्योग तथा व्यवसायको अनुकूल वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।

भेटका क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको नेपालमा निर्वाध प्रवेशले स्वदेशी मालवाहक व्यवसायमा ठूलो असर परिरहेको भन्दै यसबारे सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए। उनले नेपालमै उत्पादित वस्तुहरूको बजार सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै लुब्रिकेन्ट्स उद्योगको नाममा फिनिस्ड गुड्स आयात गरी बिक्री वितरण भइरहेकोले यसलाई रोक्नुपर्ने माग गरे।

चौधरीले नेपालमै टायर उद्योग स्थापना भए पनि गुणस्तर मापदण्डको अभाव रहेको बताउँदै बुट मोडेलमार्फत बाह्य लगानी भित्र्याउने सम्भावना रहेको धारणा व्यक्त गरे। उनले सरकारले उद्योगी व्यवसायीहरूलाई स्वदेशमै उद्यमशील बन्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधन आयातकर्ताहरूका लागि एजेन्सी दर्तासम्बन्धी ऐन आवश्यक रहेको उल्लेख गर्दै यसलाई छिट्टै पारित गर्न माग गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगहरूको अवस्थाबारे जानकारी दिँदै हाल बन्द रहेको गोरखकाली रबर उद्योगलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी पुनः सञ्चालन गर्न सकिने र सो क्षेत्रलाई विशेष आर्थिक क्षेत्र (सेज) का रूपमा उपयोग गर्न सकिने सुझाव दिए।
उद्योगमन्त्री भण्डारीले नेपालको उद्योग तथा व्यवसायबारे बिना पर्याप्त जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको बताए। खुला अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि नाफा लिन सकिने उल्लेख गर्दै उनले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउने प्रतिबद्धता जनाए। साथै, उनले एजेन्सी दर्तासम्बन्धी ऐनबारे सम्बन्धित मन्त्रालयसँग छलफल गरी चाँडै पारित गर्ने आश्वासन दिए।

भेटघाटमा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, मन्त्रीका निजी सचिव सुमन धिताल तथा स्वकीय सचिव आनन्दप्रसाद भट्टको उपस्थिति रहेको थियो। नाडाको तर्फबाट सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएसन सचिव सुरेन्द्र प्रधान सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स