insta insta

आई.एफ.सीएच. किचन र कृष्ण पाउरोटीमा खाद्य विभागको अनुगमन, भेटियो कैफियत

आई.एफ.सीएच. किचन र कृष्ण पाउरोटीमा खाद्य विभागको अनुगमन, भेटियो कैफियत
Advertisement Ads

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई खाद्य व्यवसायमा बजार अनुगमन गर्दा विभिन्न कैफियत फेला पारेको छ। विभागले आई.एफ.सीएच. किचन प्रा. लि., पानीपोखरी र कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरी, कमलपोखरीमा अनुगमन गरेको हो।

पानीपोखरीस्थित आई.एफ.सीएच. किचनमा भान्साको सरसफाइ तथा फोहोरमैलाको व्यवस्थापन सन्तोषजनक नभएको र कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नरहेको पाइएको छ। यद्यपि, डुनट फ्राई गर्ने तेलको TPM ११.५ प्रतिशत रहेको र मापदण्डअनुकूल भएको विभागले जनाएको छ।

अनुगमनका क्रममा त्यहाँ १०० ग्रामका पाँच बट्टा कृत्रिम खाद्य रंग, उपभोग्य मिति समाप्त भएको २०० ग्रामका दुई प्याकेट सोय चंक र लेबल विवरण नभएका ११ पिस क्रोसंट भेटिएका थिए। ती सबै सामग्री नष्ट गरिएको छ। ढुसी परेको डुनट बिक्री गरिएको भन्ने गुनासो आए पनि अनुगमनका क्रममा ढुसी परेको डुनट भने फेला नपरेको विभागले जनाएको छ।

विभागले आई.एफ.सीएच. किचनलाई अनुगमनका क्रममा देखिएका कैफियत सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

यस्तै, कमलपोखरीस्थित कृष्ण पाउरोटी एण्ड कन्फेक्सनरीमा निर्माण कार्य भइरहेको अवस्थामा अनुगमन गरिएको थियो। त्यहाँ बेकरी पदार्थ सिल नगरी बिक्री वितरण गर्ने गरेको र पकाउने खाद्य पदार्थमा समेत कृत्रिम खाद्य रंग प्रयोग गर्ने गरेको पाइएको छ।

उक्त व्यवसायले तीनवटा उत्पादनका लागि मात्र खाद्य अनुमतिपत्र लिएको पाइएको छ। विभागले निर्माण कार्य र उत्पादनको समय अलग गर्न, अनुमतिपत्र लिएका खाद्य पदार्थबाहेकका उत्पादन बन्द गरी थप उत्पादनका लागि अविलम्ब अनुमतिपत्र लिन निर्देशन दिएको छ।

त्यस्तै, बेकरी पदार्थ सिल गरेर मात्र बिक्री वितरण गर्न तथा पकाउने प्रयोजनमा कृत्रिम खाद्य रंग प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०८३/०५/०३ मा प्राप्त गुनासो व्यवस्थापनका लागि आकस्मिक बजार अनुगमन गरेको थियो। अनुगमनमा कुल दुईवटा खाद्य व्यवसाय समेटिएका छन्।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स