नेपालले बाल क्यान्सरको निःशुल्क उपचारलाई सघाउन प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गरेका छन्।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स कार्यक्रमअन्तर्गत नेपालले बाल क्यान्सर उपचारमा आवश्यक औषधिको पहिलो खेप प्राप्त गरेको छ। संगठनले आगामी दिनमा थप औषधि उपलब्ध गराइने जनाएको छ।
मन्त्री पौडेलका अनुसार आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले मङ्सिर १ गतेदेखि बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था लागू गरिएको छ। उनले प्राप्त सहयोगले बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
“देशको प्रमुख स्वास्थ्य समस्या बनेको क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गर्दै उपचारसँगै निरोधात्मक विधिहरू प्रवर्द्धन गरिरहेका छौं,” मन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन्।
क्यान्सर उपचारको पहुँचलाई विस्तार गर्दै सबै प्रदेशमा सेवाहरू पुर्याउने योजना रहेको बताउँदै, उनले क्रमशः सेवा सुधारको प्रतिबद्धता जनाए।
प्राप्त औषधिहरू भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, र भरतपुर क्यान्सर अस्पतालमा उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
“बाल क्यान्सरको निःशुल्क उपचार गर्ने सरकारको निर्णयमा यी औषधिहरूले महत्वपूर्ण भूमिका खेल्नेछन्,” उनले भने, “क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्न मन्त्रीको पहलमा गरिएको यो निर्णय दूरगामी हुनेछ।”













![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया