काठमाडौं महानगरपालिकाले विभिन्न सातवटा सडकलाई एकतर्फी बनाउने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाले जारी गरेको सूचनाअनुसार, फागुन ७ गतेबाट लागू हुने सवारी सञ्चालन व्यवस्था अनुसार, वडा नं. ५ अन्तर्गतका थटु मार्ग, भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग र हाँडीगाउँ मार्गतर्फ सवारी सञ्चालन एकतर्फी हुनेछ।
विशालनगरतर्फबाट आउने सवारी साधनलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरिनेछ, र हात्ती महाङ्काल तर्फ मात्र प्रवेश गर्न पाउनेछ। हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्गतर्फ पठाउने व्यवस्था गरिनेछ।
नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरूलाई वडा नं. ५ कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरिनेछ, र भीमसेन मार्गतर्फ मात्र जान पाउनेछन्। थप रूपमा, ढुङ्गेधाराबाट हात्ती महाङ्काल तर्फ प्रवेश निषेध र वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध हुनेछ।
अन्ततः, बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बाल मन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध गरिनेछ। यस व्यवस्थाले यातायात आवागमनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिकृया