जगदिश खरेलले आफूविरुद्ध नियोजित र भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै सत्य बाहिर आउने बताएका हुन्।
स्मार्ट टेलिकम प्रकरणसँग जोड्दै सञ्चारमन्त्री हुँदा अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले प्रतिक्रिया दिएका हुन्। खरेलले उक्त आरोप अस्वीकार गर्दै शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ ।”
सुशीला कार्की नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका खरेल हाल राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद हुन्। उनी ललितपुर–२ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
खरेलले आफूविरुद्ध भइरहेको प्रचारलाई भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारको संज्ञा दिँदै आफ्नो चरित्र र राजनीतिक भविष्य माथि अनावश्यक हमला नगर्न आग्रह गरेका छन्।


प्रतिकृया