राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले काठमाडौंका २० प्रतिशत मात्रै जनता सडकमा आए भने फाल्गुन २५ गते नै ज्ञानेन्द्र सरकारलाई नारायणहिटी भित्र्याउन सकिने दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले त्यस्तो बताएका हुन् ।
शाहीले भने, “काठमाडौंमा बस्ने जनसंख्याको २० प्रतिशत मात्र राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिए भने २५ गते नै ज्ञानेन्द्र सरकारलाई नारायणहिटी भित्र्याउन सकिन्छ ।”
शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सार्दै, राष्ट्रपतिको सट्टा राजसंस्थालाई पुनर्स्थापित गर्ने आफ्नो पार्टीको परिकल्पना रहेको बताए। उनका अनुसार, राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाका लागि राजसंस्था अपरिहार्य रहेको १६ वर्षको गणतान्त्रिक अभ्यासले देखाएको छ।
उनले भने, “हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चाहन्छौं। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री रहनेछ, तर राष्ट्रपतिको स्थानमा राजा रहनेछन्। यसले राष्ट्रिय एकता कायम राख्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा जोगाउनेछ।”
शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र, देश र जनताको रक्षाका लागि जनसमर्थन मागेको उल्लेख गरे। उनले गणतन्त्रलाई कोरोना महामारीको संज्ञा दिँदै, नागरिकहरूलाई राष्ट्रिय झण्डामुनि एकजुट भई राजसंस्थाको पक्षमा उभिन आग्रह गरे।
ज्ञानबहादुर शाहीले आगामी फाल्गुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन राष्ट्रवादी समर्थकहरूलाई आह्वान गरेका छन्।
शाहीले पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पोखराबाट काठमाडौं फर्किने जानकारी दिए। उनले सबै राष्ट्रवादी शक्तिलाई उक्त अवसरमा उपस्थित हुन अपील गरेका छन्।
















प्रतिकृया