नेपाल सरकार विवाह गर्ने उमेर घटाउने तयारीमा रहेको छ। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह सम्बन्धी कानुन संशोधनको विषयमा छलफल भइरहेको जानकारी दिए। उनका अनुसार, विवाहको उमेर १८ वर्ष बनाउने वा रोमियो-जुलियट कानुन लागू गर्ने विषयमा सरकारको छलफल जारी छ।
गृहमन्त्री लेखकले बालबालिका सम्बन्धी ऐन संशोधन गर्न मन्त्रिपरिषद्मा विधेयक प्रस्तुत भइसकेको बताए। उक्त विधेयकमार्फत विवाहको कानुनी उमेर घटाउने वा अन्तर्राष्ट्रिय अभ्यासअनुसार रोमियो-जुलियट कानुन ल्याउने विकल्पबारे छलफल भइरहेको उल्लेख गरे।
रोमियो-जुलियट कानुनअनुसार, यदि १६ देखि १८ वर्ष उमेर समूहका युवक-युवतीबीच सहमतिमा शारीरिक सम्बन्ध स्थापित भएमा त्यसलाई बलात्कारको रूपमा नलिएर प्रेम सम्बन्धका रूपमा कानुनी मान्यता दिने व्यवस्था गरिन्छ। गृहमन्त्री लेखकका अनुसार, विभिन्न देशहरूले यो कानुन लागू गरिसकेका छन्। हाल नेपालको कानुनअनुसार विवाह गर्ने न्यूनतम उमेर २० वर्ष रहेको छ।
















प्रतिकृया