ग्लोबल आईएमईले बढायो मुद्दती निक्षेपको ब्याजदर
ग्लोबल आईएमई बैंकको फागुन १ गते देखि लागू हुनेगरी आफ्नो ब्याजदर संरचनामा परिवर्तन गरेको छ। बैंकले विभिन्न निक्षेप योजनाहरूमा ब्याजदर संशोधन गरेको छ भने ऋण दर भने यथावत राखेको छ।
ग्लोबल आईएमई बैंक लिमिटेडले फाल्गुन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बचत तथा निक्षेप खाताको ब्याजदरमा कुनै परिवर्तन गरिएको छैन। बैंकले नेपाली रुपैयाँ बचत खाता, ग्लोबल नर्मल सेविङ्स तथा अन्य सबै प्रकारका बचत खाताहरूमा वार्षिक ३.०० प्रतिशत ब्याजदर यथावत् रहेको छ। ज्येष्ठ नागरिक बचत खातामा पनि ३.५० प्रतिशत ब्याजदर कायम छ, भने विशेष बचत योजनाहरूमा ३.०० देखि ३.५० प्रतिशतसम्मको ब्याजदर परिवर्तन नभई स्थिर राखिएको छ।
फिक्स्ड डिपोजिटको ब्याजदरमा भने केही वृद्धि गरिएको छ। तीन वर्ष वा सोभन्दा माथिको मुद्धती निक्षेपमा ब्याजदर ५.७५ प्रतिशतबाट बढाएर ६.०० प्रतिशत पुर्याइएको छ। संस्थागत मुद्धती निक्षेपमा पनि तीन वर्ष वा सोभन्दा माथिको ब्याजदर ४.२५ प्रतिशतबाट बढाएर ४.५० प्रतिशत कायम गरिएको छ।
विदेशी मुद्रा बचत निक्षेपको ब्याजदरमा भने गिरावट आएको छ। अमेरिकी डलर बचत निक्षेपमा ब्याजदर ३.०० प्रतिशतबाट घटाएर १.७५ प्रतिशत बनाइएको छ। युरो बचत निक्षेपमा पनि ब्याजदर ३.०० प्रतिशतबाट घटेर २.७५ प्रतिशत पुगेको छ। अन्य विदेशी मुद्राका बचत खाताहरूमा समेत ब्याजदर सामान्य रूपमा घटाइएको छ।
निक्षेप दरमा परिवर्तन भए पनि बैंकले आफ्नो कर्जाको ब्याजदर भने स्थिर राखेको छ। कर्पोरेट, साना तथा मझौला उद्यम (SME), अटो, शिक्षा तथा घर कर्जालगायत सबै प्रकारका ऋण योजनाहरूमा कुनै पनि परिवर्तन नगरिएको बैंकले जनाएको छ।