२ अर्बको लगानीमा रुपन्देहीमा खुल्यो फ्रेन्चफ्राई उद्योग ‘हिमालयन क्रिस्प’
रुपन्देहीको शुद्धोधनमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राइ उद्योग ‘फर्स्ट च्वाइस फुड्स’ सञ्चालनमा आएको छ। व्यवसायी कृष्णप्रसाद पौडेलद्वारा स्थापना गरिएको उक्त उद्योगले ‘हिमालयन क्रिस्प’ ब्रान्डमा फ्रेन्च फ्राइज उत्पादन गर्दै आएको छ।
५ बिघा क्षेत्रमा फैलिएको आधुनिक युरोपियन प्रविधिमा आधारित उद्योगले हाल वार्षिक २ हजार टन आलु प्रशोधन गर्दै १९ जिल्लाका १० हजार किसानसँग सहकार्य गरिरहेको छ। उद्योगले हाल भारतमा निर्यात सुरु गरिसकेको छ भने अमेरिका, दुबई, मलेसिया र साउदी अरेबियामा पनि निर्यातको तयारीमा छ। उद्योगले हालसम्म १० कन्टेनर फ्रेन्च फ्राइ भारत पठाइसकेको छ।
बीआरसीजीएस प्रमाणपत्र प्राप्त गर्ने यो पहिलो नेपाली उद्योग हो, जसले खाद्य सुरक्षाको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ। देशभर ५ वटा डिस्ट्रीब्युटर, १२ चेन रेस्टुरेन्ट, १५० सप्लायर्स र ४०० भन्दा बढी रेस्टुरेन्टमार्फत बिक्री भइरहेको छ।