रसुवामा बाढीका कारण १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको विभूती–३ सबस्टेसनमा रहेको आयोजनाको ग्रिड कनेक्सन बेका टावर AP27 र AP28 पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विद्युत् प्रसारण गर्न नसकिएको कम्पनीले जनाएको छ।
आयोजनाका पावरहाउस, टनेल, इन्टेकलगायत मुख्य संरचनामा प्रत्यक्ष भौतिक क्षति नभएको जनाइएको छ। तर, प्रसारण संरचना पुनर्निर्माण तथा उपकरण प्रतिस्थापन गर्न करिब ७ महिना लाग्न सक्ने कम्पनीको प्रारम्भिक अनुमान छ।
विद्युत् उत्पादन तथा प्रसारण बन्द हुँदा आयोजनाको नियमित नगद प्रवाह प्रभावित भएको र बैंकको साँवा तथा ब्याज भुक्तानी, कर्मचारी पारिश्रमिक तथा सञ्चालन खर्च व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको कम्पनीले जनाएको छ। आयोजनाको बीमा रहेको र बीमा कम्पनीमा दाबीसमेत गरिएको छ।
कम्पनीले क्षतिग्रस्त प्रसारण संरचनाको प्राविधिक मूल्यांकन तथा लागत अनुमान गरिसकेको जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण संरचना पुनःस्थापना गरी वैकल्पिक प्रसारण व्यवस्था गर्न सकेमा आयोजनाबाट विद्युत् उत्पादन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह पुनः सुरु गर्न सकिने कम्पनीले जनाएको छ।


प्रतिकृया