सयपत्री हाइड्रोपावर लिमिटेडको आयोजनास्थलमा बाढी तथा लेदोका कारण थप क्षति पुगेको छ। कम्पनीका अनुसार असोज ११ गते बिहान करिब ३ बजे पावरहाउसबाट करिब ७०० मिटर माथिबाट आएको माटोको लेदो पावरहाउसको पछाडिपट्टिका सिसाका झ्यालबाट भवनभित्र पसेको हो।
लेदो ठूलो मात्रामा जमेकाले आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको कम्पनीले जनाएको छ। यसअघि असोज ९ गते दरम खोलामा आएको बाढीका कारण आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेशनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेपछि उत्पादन तथा प्रसारण बन्द भएको थियो।
कम्पनीका अनुसार आयोजनास्थलमा मानवीय क्षति भएको छैन। हेडवर्क्स, पाइपलाइन, पावरहाउस भवन तथा कर्मचारी आवासगृहमा समेत अन्य कुनै क्षति नपुगेको जनाइएको छ।
हाल पावरहाउसमा जमेको लेदो सफा गर्ने तथा क्षतिग्रस्त ३३ केभी प्रसारण लाइनका पोल र तार मर्मत गर्ने काम अघि बढाइने कम्पनीले जनाएको छ। सम्भव भएसम्म छिटो विद्युत् उत्पादन तथा प्रसारण सेवा पुनः सञ्चालन गरी आयोजना सुचारु गर्ने कम्पनीको प्रतिबद्धता छ।

प्रतिकृया