सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण अवरुद्ध भएको छ।
बागलुङको ताराखोला गाउँपालिकामा रहेको आयोजनाको स्रोत नदी दरम खोलामा असोज ९ गते आएको बाढीका कारण स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेको कम्पनीले जनाएको छ।
क्षतिका कारण असोज ९ गते राति ११ बजेपछि आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण बन्द रहेको छ। यस्तै, असोज १० गते राति ११ बजेपछि ताराखोला क्षेत्रमा रहेका सञ्चार टावरमा समेत विद्युत् आपूर्ति अवरुद्ध भएपछि सञ्चार सम्पर्क विच्छेद भएको कम्पनीले जनाएको छ।
सञ्चार सम्पर्क हुन नसक्दा आयोजनास्थलमा रहेका कर्मचारीसँग समेत हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन। त्यसकारण आयोजनास्थलमा भएको थप क्षतिको विवरण प्राप्त हुन नसकेको कम्पनीले जनाएको छ।
कर्मचारीसँग सम्पर्क स्थापित भएपछि आयोजनास्थलको वास्तविक अवस्था तथा थप क्षतिको विवरण पुनः जानकारी गराउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्षति पुगेको ३३ केभी प्रसारण लाइन तथा अन्य भौतिक संरचना क्षति हुँदाको समयमा चालु बीमा व्यवस्थाअन्तर्गत बीमित रहेका छन्।


प्रतिकृया