ऊर्जामन्त्री खड्काले भने, “ऊर्जा क्षेत्रको विकासबाटै नेपालको अर्थतन्त्रको विकास सम्भव छ”
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै यसले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउने धारणा व्यक्त गरे। काठमाडौंमा आयोजित कर्पोरेट नेपाल डट कमको ११औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार भएको बताए।
उनका अनुसार, आगामी १० वर्षमा ६४ खर्ब रुपैयाँको लगानी परिचालन गरी विद्युत् उत्पादनलाई तीव्रता दिइनेछ। यसले रोजगारी सिर्जना, उत्पादन वृद्धिलगायत राजस्व संकलनमा टेवा पुर्याउनेछ। तर, लक्ष्य पूरा गर्न नीतिगत सुधार अनिवार्य रहेको उनले बताए। वन, जग्गा प्राप्ति र संरचना निर्माण जस्ता समस्याहरू समाधान गर्दै रिजर्भर परियोजनाहरू अघि बढाइने छ।
नेपालले भारतसँग ९५० मेगावाट विद्युत् निर्यात गरिसकेको उल्लेख गर्दै मन्त्री खड्काले व्यापार घाटा कम गर्न सफल भएको बताए। अघिल्लो वर्ष भारतलाई १३ अर्ब रुपैयाँ तिर्ने अवस्था भए पनि यस वर्ष १० अर्बभन्दा बढी नाफा भएको जानकारी दिए। विद्युत् व्यापार विस्तार गर्न बङ्लादेशसँग छलफल भइरहेको उनले उल्लेख गरे।
विद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाहरूलाई १० प्रतिशत सेयर दिने नीति कार्यान्वयन भइरहे पनि वित्तीय अभावका कारण सबैले अवसर नपाएको भन्दै घरधुरीलाई २ देखि ५ लाखसम्म सहुलियत ऋण दिने व्यवस्था गर्न लागिएको बताए।
सरकार, निजी क्षेत्र, र नागरिक समाजको सहकार्य आवश्यक रहेको औंल्याउँदै उनले जलविद्युत् क्षेत्रलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए। समृद्धि हासिल गर्न स्रोत र लगानीको उचित व्यवस्थापन अनिवार्य रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्र विस्तार सरकारको प्रमुख प्राथमिकता भएको बताए।