नेपाल राष्ट्र बैंकले आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण महँगी केही बढ्न सक्ने अनुमान गरेको छ।
मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले हाल मुद्रास्फीति न्यून रहे पनि बढ्दो विप्रेषण आप्रवाह र निर्वाचनसम्बन्धी खर्च तथा आर्थिक गतिविधि विस्तारका कारण समष्टिगत माग बढ्ने र त्यसको प्रभावस्वरूप मूल्यस्तरमा दबाब पर्न सक्ने जनाएको हो।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २०८१ पुसमा ५.४१ प्रतिशत रहेकोमा २०८२ पुसमा घटेर २.४२ प्रतिशतमा झरेको छ। मूल्य सूचकाङ्कमा ३५.५ प्रतिशत भाराङ्क रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्य ०.०९ प्रतिशतले घटेका कारण समग्र मुद्रास्फीति न्यून रहन गएको हो।
यस अवधिमा खाद्यान्न, दाल तथा गेडागुडी, तरकारी, मरमसला लगायत अन्नबालीको मूल्य उल्लेख्य रूपमा घटेको राष्ट्र बैंकले जनाएको छ। यद्यपि, गैर–खाद्य तथा सेवा समूहको विन्दुगत मुद्रास्फीति भने ३.८१ प्रतिशत रहेको छ, जसले सेवा र अन्य उपभोग्य वस्तुमा मूल्यचाप कायम रहेको संकेत गर्छ।
वार्षिक विन्दुगत थोक मुद्रास्फीति २०८१ पुसमा ४.०१ प्रतिशत रहेकोमा २०८२ पुसमा बढेर ५.१७ प्रतिशत पुगेको छ। त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क २०८१ पुसमा २.८५ प्रतिशतले बढेकोमा २०८२ पुसमा ६.०३ प्रतिशतले वृद्धि भएको छ।


प्रतिकृया