सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा ५.१ प्रतिशतको आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यातायात, निर्माण, कृषि तथा विद्युत् उत्पादनमा सुधार देखिँदा समग्र अर्थतन्त्रले सकारात्मक गति लिएको छ।
सबैभन्दा उच्च वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रमा देखिएको छ, यो क्षेत्र १४.२ प्रतिशतको दरले विस्तार भएको छ। खानी तथा उत्खनन क्षेत्रमा ९.५ प्रतिशत, विद्युत् तथा ग्यासमा ९.२ प्रतिशत, निर्माण क्षेत्रमा ९.१ प्रतिशत र उत्पादनमूलक उद्योगमा ७.४ प्रतिशतको वृद्धि भएको छ। वित्तीय तथा बीमा क्षेत्र ६.६ प्रतिशतले बढेको छ भने व्यापार क्षेत्र ६.१ प्रतिशतले विस्तार भएको छ। सूचना तथा प्रविधि क्षेत्रमा ४.९ प्रतिशतको वृद्धिदर देखिएको छ।
देशको अर्थतन्त्रलाई सबल बनाउने मुख्य क्षेत्र कृषि भए पनि, यसले अपेक्षाअनुसार गति लिन सकेको छैन। तथ्यांकअनुसार कृषि क्षेत्र मात्र ३.२ प्रतिशतले वृद्धि भएको छ। धान उत्पादनमा सुधार देखिए पनि सेवा क्षेत्रको अपेक्षित योगदान नहुँदा समग्र अर्थतन्त्रले थप गति लिन सकेको छैन। विशेषगरी, शिक्षा, आवास तथा भोजनजस्ता क्षेत्र कमजोर देखिएका कारण समग्र वृद्धिदर मध्यमस्तरमै सीमित रहेको छ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवमा आर्थिक वृद्धि ५ प्रतिशतभन्दा बढीले भएपनि पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा वृद्धिदर २.२ प्रतिशत मात्र देखिएको छ। पहिलो त्रैमासमा ३.४ प्रतिशतको वृद्धिदर हासिल भएको थियो भने गत आवको चौथो त्रैमासमा अर्थतन्त्र ०.२ प्रतिशतले मात्र बढेको थियो।
औद्योगिक उत्पादन र स्वदेशी व्यापार क्रमिक रूपमा सुधारोन्मुख देखिए पनि, सेवा क्षेत्रमा अपेक्षाकृत वृद्धि नहुँदा अर्थतन्त्रले चाहेजति लय समात्न सकेको छैन। विशेष गरी, आवास तथा भोजन क्षेत्र २.७ प्रतिशतले खुम्चिएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया