चालु खाता १ खर्ब ८० अर्ब बचतमा, शोधनान्तर स्थिति ३ खर्ब १० अर्बले बचतमा
चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्मको अवधिमा नेपालको चालु खाता तथा शोधनान्तर स्थिति बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार फागुन मसान्तसम्म नेपालको शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३२७ अर्ब ५५ करोड रुपैयाँ थियो, जुन यस वर्ष केही घटेर ३ खर्ब १० अर्बमा सीमित भएको हो।
शोधनान्तर स्थिति डलरमा पनि थोरै घटेको देखिन्छ। अघिल्लो वर्ष २ अर्ब ४६ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष २ अर्ब २९ करोड डलरमा झरेको छ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहँदा अघिल्लो वर्षको सोही अवधिमा यो खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा हिसाब गर्दा चालु खाता १ अर्ब ३३ करोड डलरले बचतमा रहेको देखिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ करोड डलरले बढी हो।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पनि बढेर ८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ६३ करोड थियो। यस्तै, खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ८९ करोड रुपैयाँ मात्र थियो।