काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ। यसका लागि उपत्यकाका ९ वटा स्थानीय तह र साझा यातायातबीच सहकार्यसम्बन्धी समझदारी भएको छ।
समझदारीमा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका सहभागी छन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले समझदारीमा हस्ताक्षर गरेका छन्।
समझदारीपछि उपत्यकाका ६ वटा रुटमा ३० वटा बस सञ्चालनमा आउने भएका छन्। जगाती–सूर्यविनायक हुँदै ठमेल रुटमा ६ वटा, गोदावरी–लगनखेल–बूढानीलकण्ठ रुटमा ६ वटा, रिङरोडमा ८ वटा, कीर्तिपुर–जमलमा ४ वटा, टाखेल–ठमेलमा २ वटा तथा नागढुङ्गा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गरिनेछ।
यसअघि काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्य गरी वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा परीक्षणका रूपमा सुरु गरेको थियो। त्यस क्रममा लगनखेलदेखि बूढानीलकण्ठ तथा नागढुङ्गादेखि एयरपोर्टसम्म राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बस सञ्चालन हुँदै आएका थिए।

प्रतिकृया