घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]

Advertisement Ads

नेपालको घरजग्गा कारोबारमा पछिल्लो समय मन्दी रहेको चर्चा भइरहे पनि बजारमा कारोबार पूर्णरूपमा सुस्त नभएको नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघका उपाध्यक्ष तथा नेपाल रियल इस्टेट अर्गनाइजेसनका सचिव हमाद खानले बताएका छन्। उनका अनुसार विशेषगरी सानो मूल्यका घरजग्गामा कारोबार भइरहेको छ भने बजारमा खरिदकर्ताको मागसमेत देखिएको छ।

बजारको पछिल्लो अवस्थाबारे चिरफार प्रिमियम पोडकास्टमा बोल्दै खानले आफूले दैनिक कारोबारलाई हेर्दा घरजग्गाको बजारलाई मन्दीमा रहेको भन्न नमिल्ने बताएका हुन्। उनका अनुसार ठूला मूल्यका सम्पत्तिमा कारोबार गर्न कठिनाइ भए पनि तुलनात्मक रूपमा सानो मूल्यका सम्पत्तिमा कारोबार भइरहेको छ।

खानले बैंक तथा वित्तीय संस्थामा रहेका गैरबैंकिङ सम्पत्तिको विषयसमेत घरजग्गा बजारसँग जोडिएको बताए। उनका अनुसार बैंकले पटक–पटक लिलामी सूचना निकालिरहेका ठूला सम्पत्तिको बिक्रीमा समस्या देखिए पनि बजारको सबै तहमा एउटै अवस्था नरहेको उनको अनुभव छ।

उनले नेपालको घरजग्गा बजारमा विगतमा पनि निश्चित अवधिमा मन्दी र त्यसपछि सुधार आउने चक्र देखिएको आफ्नो अनुभव सुनाए। उनले २०६६, २०७२ र २०७८ आसपासको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै पछिल्लो समय बजारमा सुधारका संकेत देखिन थालेको दाबी गरे।

खानका अनुसार घरजग्गा बजारमा समस्या केवल कारोबार घट्नुमा सीमित छैन। सरकारी मूल्यांकन र वास्तविक बजार मूल्यबीच ठूलो अन्तर हुनु पनि बजारको महत्वपूर्ण चुनौती हो। उनले औसत सम्पत्तिको हकमा सरकारी मूल्यांकन र बजार मूल्यबीच करिब साढे दुईदेखि तीन गुणासम्मको अन्तर देखिने गरेको बताए।

उनले यही मूल्य अन्तरका कारण घरजग्गा कारोबारमा स्रोत नखुलेको रकम प्रवेश तथा बाहिरिने जोखिमसमेत रहेको दाबी गरे। नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानीमा राखिएको सन्दर्भमा घरजग्गा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ।

खानले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न ‘भूमि बजार’को अवधारणा विकास गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सेयर बजारमा कारोबारको मूल्य, खरिदकर्ता र बिक्रीकर्ताको विवरण प्रणालीमा रेकर्ड हुने गरेजस्तै घरजग्गामा पनि कारोबारको व्यवस्थित अभिलेख राख्ने प्रणाली आवश्यक छ।

उनले यस्तो प्रणाली बनेमा घरजग्गाको वास्तविक बजार मूल्य पहिचान गर्न सहज हुने र खरिदकर्ता, बिक्रीकर्ता, लगानीकर्ता तथा राज्य सबैलाई फाइदा पुग्ने बताए। अहिले कुनै जग्गाको मूल्य निर्धारण गर्दा आसपासको कारोबार, आफन्त वा स्थानीय जानकारीमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

त्यसैगरी, घरजग्गा कारोबारमा एजेन्टको लाइसेन्सिङ प्रणालीलाई थप विस्तार गर्नुपर्ने उनले बताए। उनका अनुसार महानगरपालिका र उपमहानगरपालिकामा कम्पनीको नाममा हुने ३ करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबारका लागि लाइसेन्स प्राप्त कम्पनीमार्फत कारोबार गर्नुपर्ने व्यवस्था २०८३ वैशाखदेखि लागू भएको छ। व्यक्तिगत व्यक्तिबीचको कारोबारमा भने उक्त व्यवस्था लागू नभएको उनले स्पष्ट पारे।

खानका अनुसार हालसम्म ११४ वटा कम्पनीले घरजग्गा कारोबारका लागि लाइसेन्स लिएका छन्। दक्ष र लाइसेन्स प्राप्त एजेन्टमार्फत कारोबारलाई व्यवस्थित गर्दै लैजान सकेमा खरिदकर्ता र बिक्रीकर्ताको जोखिम घटाउन सकिने उनको भनाइ छ।

उनले घरजग्गा कारोबारसँग जोडिएका विभिन्न सरकारी निकायबीच समन्वयको आवश्यकता पनि औंल्याए। मालपोत, नापी, स्थानीय तह, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण तथा काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायका फरक–फरक मापदण्डका कारण सर्वसाधारणलाई सम्पत्ति खरिद गर्दा आवश्यक जानकारी जुटाउन कठिन हुने गरेको उनले बताए।

सरकारी अभिलेख र नक्सामा भर परेर घरजग्गा खरिद गरेका सर्वसाधारण पछि समस्या परेमा उनीहरूलाई मात्रै दोषी ठहर गर्न नहुने खानको धारणा छ। राज्यकै निकायबाट जारी भएका कागजातका आधारमा ठूलो रकम लगानी गरेका खरिदकर्ताको सुरक्षाबारे पनि राज्यले जिम्मेवारीपूर्वक सोच्नुपर्ने उनले बताए।

खानले घरजग्गा क्षेत्रलाई व्यवस्थित गर्न सरकारी मूल्यांकन, वास्तविक बजार मूल्य, कारोबारको अभिलेख, एजेन्ट लाइसेन्सिङ तथा विभिन्न सरकारी निकायबीचको समन्वयलाई एकीकृत प्रणालीमा लैजानुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स