अब खाने तेलमा मनपरी दाबी गर्न नपाइने, सरकार ल्याउँदै कडा मापदण्ड

अब खाने तेलमा मनपरी दाबी गर्न नपाइने, सरकार ल्याउँदै कडा मापदण्ड
Advertisement Ads

सरकारले नेपाली बजारमा बिक्री हुने खाने तेलको गुणस्तर, शुद्धता र उपभोक्ता स्वास्थ्यलाई ध्यानमा राख्दै उत्पादन, प्याकेजिङ तथा बिक्री वितरणमा कडाइ गर्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरी, भटमास र सूर्यमुखी तेलका लागि नयाँ गुणस्तर मापदण्डको अन्तिम मस्यौदा तयार पारेको हो। मापदण्डले तेललाई सिधै खान मिल्ने र नमिल्ने गरी वर्गीकरण गर्नुका साथै प्याकेजिङ र विज्ञापनमा समेत कडाइ गरेको छ।

तोरीको तेलमा एक्स्प्रेस प्रक्रियाबाट निकालिएका रिफाइन्ड, भर्जिन र एक्स्पेलर तथा सल्भेन्ट प्रक्रियाबाट निकालिएको रिफाइन्ड तेललाई सिधै खान योग्य मानिएको छ। सल्भेन्ट प्रक्रियाको ग्रेड–१ तेल भने थप प्रशोधनपछि मात्र प्रयोग गर्नुपर्नेछ। यस्तो तेल खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने र कन्टेनरमा कम्तीमा ५० मिलिमिटर ठूला अक्षरमा ‘नट फर डाइरेक्ट इडिबल कन्जम्प्सन’ लेख्नुपर्नेछ।

भटमास तेलमा सल्भेन्ट एक्स्ट्र्याक्सनबाट उत्पादित रिफाइन्ड तेललाई मात्र सिधै खान योग्य मानिएको छ। डिगम्ड र ग्रेड–१ तेललाई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनका लागि कच्चापदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्नेछ। यस्ता तेल खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने र कन्टेनरमा ‘सोझै खानका लागि होइन’ भन्ने चेतावनी राख्नुपर्नेछ।

सूर्यमुखी तेललाई पनि एक्स्प्रेस र सल्भेन्ट एक्स्ट्र्याक्टेड गरी वर्गीकरण गरिएको छ। दुवै प्रक्रियाबाट उत्पादित रिफाइन्ड तेल तथा एक्स्प्रेसतर्फको ग्रेड–१ तेल सिधै खान योग्य हुनेछन् भने सल्भेन्ट एक्स्ट्र्याक्टेड ग्रेड–१ तेल सिधै खान नमिल्ने व्यवस्था गरिएको छ।

नयाँ मापदण्डले तेलमा हानिकारक तथा अखाद्य पदार्थको मिश्रण रोक्न विभिन्न वैज्ञानिक सीमा तोकेको छ। तोरी र सूर्यमुखी तेलमा पेरोक्साइड भ्यालु अधिकतम १० तथा अफ्लाटक्सिन अधिकतम ३० माइक्रोग्राम प्रतिकिलो कायम गरिएको छ। विषाक्त धातु तथा अन्य रासायनिक पदार्थको मात्रा पनि तोकिएको सीमाभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।

यसैगरी, उपभोक्तालाई भ्रममा पार्ने वा अतिरञ्जित दाबी गर्ने ‘सुपर–रिफाइन्ड’, ‘एक्स्ट्रा–रिफाइन्ड’, ‘डबल–रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’, ‘मुटुलाई शान्त पार्ने’ लगायतका शब्दावली प्याकेट तथा विज्ञापनमा प्रयोग गर्न रोक लगाइएको छ।

प्याकेजिङका लागि नेपाल गुणस्तर (एनएस) प्रमाणित टिन वा प्लास्टिकका कन्टेनर मात्र प्रयोग गर्नुपर्नेछ। एक पटक प्रयोग भइसकेका कन्टेनरमा पुनः खाने तेल प्याक गर्नसमेत पूर्णरूपमा रोक लगाइएको छ। कन्टेनरमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन महिना वा वर्ष र खुद तौल स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

मापदण्ड पूरा गर्ने उत्पादकले मात्र नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गर्न पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स