होल्डिङ सेन्टरमा रहेका १२५ सुकुम्वासीलाई तालिमसहित रोजगारीमा जोडिने

होल्डिङ सेन्टरमा रहेका १२५ सुकुम्वासीलाई तालिमसहित रोजगारीमा जोडिने
Advertisement Ads

सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई तालिममार्फत रोजगारीमा आबद्ध गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यसका लागि युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच सोमबार बैठक सम्पन्न भएको हो।

बैठकमा भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौंको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्वासीको रोजगारी तथा तालिम आवश्यकतासम्बन्धी मूल्याङ्कनको नतिजामाथि छलफल गरिएको थियो।

मूल्याङ्कनका क्रममा सहभागीहरूले सरसफाइ, माली, साना व्यवसाय सञ्चालन, सुरक्षा गार्ड, हाउसकिपिङ, ड्राइभिङ, पेन्टिङलगायत क्षेत्रमा रोजगारी गर्न इच्छा देखाएको पाइएको छ। त्यसका आधारमा पूर्वाधार विकास मन्त्रालय, सडक विभाग तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत आवश्यक तालिम सञ्चालन गर्ने र रोजगारीका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ।

बैठकमा मन्त्री रामजी यादवले सुकुम्वासीलाई रोजगारी उपलब्ध गराउने विषयलाई सबै निकायले उच्च प्राथमिकतामा राखेर आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

बैठकमा मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स