युवा वैदेशिक रोजगारी तथा शिक्षाका लागि गाउँबाहिर जाने क्रम बढिरहेका बेला तानसेनका तीन युवाले गाउँमै २ करोड रुपैयाँ लगानीमा पिउने पानी उद्योग सञ्चालनमा ल्याएका छन्। रामजी ढुंगाना, लक्ष्मण ढुंगाना र विराज ढुंगानाले तानसेन नगरपालिका–७ प्रभासमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन्।
स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र हाल सञ्चालनमा रहेका उद्योगबाट पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई ध्यानमा राखेर उद्योग सञ्चालन गरिएको सञ्चालक विराजले बताएका छन्। उद्योगले प्रारम्भिक चरणमा १ हजार, ५ सय र ३ सय मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी गरेको छ।
आफ्नी आमा नारायणी ढुंगाना र स्वर्गीय पिता चिरञ्जीवी ढुंगानाको स्मृतिमा उद्योगको नाम ‘सिएन पिउने पानी उद्योग’ राखिएको सञ्चालकहरूले बताएका छन्। वडाध्यक्ष प्रदीप खनालले नयाँ उद्योग स्थापनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै शुद्ध पिउने पानीको आपूर्तिमा सहयोग पुग्ने बताएका छन्।
तानसेन नगरपालिका–७ प्रभास पछिल्लो समय शैक्षिक, स्वास्थ्य तथा व्यावसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको छ। पिउने पानी उद्योग, दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दै गएको स्थानीयको बुझाइ छ।

प्रतिकृया