स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २४ गते
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं  राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको उल्लेख गरे ।

पत्रकारिताको धर्म र व्यावसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवद्र्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले भने, “पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवद्र्धन मार्फत् अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेस प्रतिको जनविश्वास बढाउने कार्यमा तपाईंहरू लाग्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

निरङकुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईहरु अझ क्रियाशील हुनुहुनेछ”, उनले भने ।

सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढङ्गले अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत भएका छन् ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स