अर्थमन्त्री पौडेलले चीनमा उपप्रधानमन्त्रीसँग सुरुङमार्गका सम्भावनाबारे वार्ता गरे

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ९ गते
अर्थमन्त्री पौडेलले चीनमा उपप्रधानमन्त्रीसँग सुरुङमार्गका सम्भावनाबारे वार्ता गरे

चीन भ्रमण गरिरहेका अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग महत्वपूर्ण भेट गरेका छन्। सो भेटमा दुई देशका बीचका आपसी हित र सहयोगका विषयमा छलफल गरिएको छ।

चीनका उपप्रधानमन्त्री हि लिफेङले भेटका क्रममा चीन सरकारले विगतमा गरिएका घोषणा र सहमतिका आधारमा सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आगामी दिनहरूमा नेपाललाई थप सहयोग गर्ने विश्वास पनि व्यक्त गरे।

अर्थमन्त्री पौडेलले चीनसँगको सहकार्यलाई अघि बढाउँदै, केरुङ–काठमाडौं रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले सडक, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, र दमक औद्योगिक पार्क जस्ता प्रमुख पूर्वाधार निर्माण परियोजनाहरूमा चीनको सहयोगको लागि आग्रह गरेका छन्।

यसका साथै, उनले चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि पनि सहयोगको अनुरोध गरे।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपाल सरकारको तर्फबाट गरिएका अनुरोधहरू प्रति चीन सरकार सकारात्मक रहेको र कामहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी थिए। यो भेट करिव एक घण्टा चलेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स