राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ की उम्मेदवार सोविता गौतमले देशमा अब पुराना दल र नेताहरूलाई निरन्तर परीक्षण गर्न नहुने बताएकी छन्।
चुनावी सभालाई सम्बोधन गर्दै गौतमले विगत ३५–४० वर्षदेखि शासन गरिरहेका दलहरूले युवाको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाइन्। उनले भनिन्, “युवाहरूले स्वदेशमै व्यापार, जागिर र रोजगारी खोजेका छन्। आफूले जानेको इलम र मेहनतले यही देशमा सम्मानजनक जीवन बिताउन पाउनुपर्छ। यही मात्र युवाको माग हो।”
गौतमले विगतका सरकार र पालैपालो प्रधानमन्त्री बनेका नेतृत्वले युवाको सामान्य चाहनाअनुसारको समाज निर्माण गर्न नसकेको दाबी गरिन्। उनले थपिन्, “विशेषगरी तीनवटा प्रमुख दललाई जनताले लामो समयदेखि परीक्षण गरिसकेका छन्। अब पनि तिनै दललाई परीक्षण मात्र गरिरहने हो भने हाम्रो देशको भाग्यले नै हामीलाई परीक्षण गर्नेछ।”
उनले नेपालीहरूको नियतिमा अब परीक्षण मात्र नभई ठोस परिवर्तन आवश्यक रहेकोमा जोड दिइन्। व्यक्तिगत रूपमा कानुन व्यवसायी भएर सफल भए पनि समाज निर्माणमा योगदान दिन राजनीतिमा प्रवेश गरेको उनले प्रस्ट पारिन्।
गौतमले भनिन्, “म एक्लै राम्रो भएर वा मेरो कमाइ राम्रो भएर मात्र समाज बन्दैन। अरूलाई गाली गर्न वा गुनासो मात्र गर्नुभन्दा समस्या समाधानका लागि आफैं मूलधारको राजनीतिमा होमिएको हुँ।”
देशमा नेतृत्वको खडेरी महसुस गरेर राजनीतिमा प्रवेश गरेको र देश तथा समाज निर्माण अन्य कसैले होइन, स्वयं नेपाली जनताले गर्नुपर्ने धारणा उनले व्यक्त गरिन्।















प्रतिकृया