instainsta

अमेरिकाले नेपालका तयारी पोसाकमा १० प्रतिशत मात्र भन्सार लगाउनु सकारात्मक: अध्यक्ष पाण्डे

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २७ गते
अमेरिकाले नेपालका तयारी पोसाकमा १० प्रतिशत मात्र भन्सार लगाउनु सकारात्मक: अध्यक्ष पाण्डे
AdvertisementAds

अमेरिकाले नेपालबाट हुने तयारी पोसाक निर्यातमा १० प्रतिशत मात्र भन्सार दर कायम गरेपछि उद्योग क्षेत्रबाट यसलाई सकारात्मक रूपमा लिइएको छ। नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अमेरिकी सरकारले जारी गरेको नयाँ भन्सार नीतिमा नेपाललाई न्यूनतम दरमा राख्नु उत्साहजनक भएको बताएका छन्।“अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ, जुन न्यूनतम दर हो। यो दरभित्र पर्न सफल हुनु अत्यन्तै सराहनीय र स्वागतयोग्य छ,” अध्यक्ष पाण्डेले भने, “यद्यपि भन्सार बढेपछि निकासी महँगो भएको छ, तर अरू देशहरूमा ४७/४९ प्रतिशतसम्म ट्यारिफ थपिएको अवस्थामा नेपालका लागि १० प्रतिशत मात्रै हुनु रामो हो।”

उनले अमेरिकी बजारमा नेपाली उत्पादनको माग बढ्ने सम्भावना औंल्याउँदै नयाँ भन्सार दरपछि धेरै विक्रेता सम्पर्कमा आइरहेको जानकारी दिए। उनका अनुसार अहिले नेपालका तयारी पोसाक उद्योगमा लगानी गर्न इच्छुक विदेशी व्यवसायीहरूको चासो बढिरहेको छ। माग अनुसार उत्पादन विस्तार गर्नुपर्ने भएकाले रोजगारीका अवसरहरू पनि सृजना हुने उनले बताए।
“नयाँ भन्सार दर लागु हुनुअघि ग्राहकहरूको चासो कम थियो। अहिले भने धेरैजना आकर्षित भएका छन्,” पाण्डेले भने, “श्रीलंका, बंगलादेश, माल्दिभ्स, इटाली, भियतनामजस्ता देशहरूको तुलनामा नेपालमा भन्सार दर निकै कम छ।”

उद्योग प्रवर्द्धनका लागि सरकारले स्वदेशी कच्चा पदार्थ प्रयोगमा सहुलियत दिने नीति ल्याउनुपर्ने उनको सुझाव छ। उनले विशेष आर्थिक क्षेत्र (सेज) मा सुविधा थपिए निर्यातमूलक उद्योग फस्टाउन सक्ने विश्वास व्यक्त गरे।“यो क्षेत्र शतप्रतिशत निर्यातमुखी हो, नेपालमै बिक्री हुँदैन। यदि विदेशी लगानी आउँछ भने सरकारले करमा छुट दिनुपर्छ,” अध्यक्ष पाण्डेले भने, “रोजगारीका अवसर र अर्थतन्त्रका सूचकांक धेरै बढ्ने देखिन्छ । अहिले कुल निर्यात १ खर्ब ५७ अर्ब रुपैयाँको छ, जुन रकमभन्दा ठूलो व्यापार अमेरिकामा रहेका एउटा कम्पनीले मात्रै गर्छ। यस्तो अवस्थामा त्यस्ता लगानीकर्ता नेपालमा आकर्षित भए राज्यका लागि यो ठूलो अवसर हो।”

गत आर्थिक वर्षमा तयारी पोसाक निर्यात १० अर्ब रुपैयाँभन्दा बढीको भएको थियो, जसमा ३ अर्ब रुपैयाँ बराबरको निर्यात अमेरिका भएको थियो। नयाँ ट्यारिफले निकासीमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको पाण्डेले जानकारी दिए।उनका अनुसार हस्तकला, पश्मिना, छुर्पी, कुकुर र बिरालाको आहार जस्ता वस्तुहरू पनि अमेरिका निर्यात भइरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सदस्य समेत रहेका पाण्डेले यस्ता वस्तुको निकासी अझै बढ्न सक्ने उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स