अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमअन्तर्गतको ‘क्यापस्टोन एक्सेलेरेटर’ सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट छनोट भएका २० जना उद्यमीले आफ्ना व्यवसाय लगानीकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूसमक्ष प्रस्तुत गरेका छन्।
तीनदिने आवासीय कार्यक्रममा सहभागी उद्यमीलाई व्यवसाय विस्तार, लगानी तयारी, निर्यात, एआईको प्रयोग, डिजिटल मार्केटिङ, बजार व्यवस्थापन र रणनीतिक सञ्चार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको अन्तिम दिन आयोजित पिचिङ सत्रमा उद्यमीहरूले आफ्ना व्यवसायको सम्भावना, नवप्रवर्तन, बजार विस्तार र लगानीको योजनाबारे प्रस्तुति दिएका थिए। विज्ञ तथा लगानीकर्ताले उनीहरूलाई व्यवसाय थप विस्तार गर्न आवश्यक सुझाव दिएका थिए।

यसअघि नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन भएका क्षेत्रीय कार्यशालामा २०० भन्दा बढी उद्यमी सहभागी भएका थिए। तीमध्ये प्रतिस्पर्धात्मक छनोटबाट २० जना क्यापस्टोन एक्सेलेरेटरका लागि चयन भएका हुन्।
कार्यक्रममा सहभागी उद्यमीहरूले ‘क्यापस्टोन मेन स्ट्रीट शोकेस’ मार्फत आफ्ना उत्पादन तथा सेवासमेत प्रदर्शन गरेका थिए। यसले उनीहरूलाई लगानीकर्ता, उद्योगी तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट र नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर दिएको आयोजकले जनाएको छ।
अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स चिफ माइक हार्करले कार्यक्रमले नेपालका नयाँ पुस्ताका उद्यमीलाई लगानी, नवप्रवर्तन र व्यवसायिक सहकार्यका अवसरसँग जोड्न सहयोग गरेको बताए।
क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित उद्यमशीलता सीप विकास कार्यक्रमको अन्तिम चरण हो। कार्यक्रम International Development Institute (IDI) ले Aadyanta Advisory सँगको साझेदारीमा सञ्चालन गरेको हो।
छनोट भएका उद्यमीहरू कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, डिजिटल सेवा, हस्तकला, प्राकृतिक उत्पादन, परामर्श तथा सामाजिक उद्यमलगायत विभिन्न क्षेत्रमा सक्रिय छन्।
प्रतिकृया