नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले कलंकीमा प्रस्ताव गरेको जग्गा र भवन निर्माणसम्बन्धी योजना धन्यवादसहित फिर्ता गर्ने निर्णय गरेको छ।
सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरुङले उपलब्ध गराउने भनेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय भवन बनाउने प्रस्ताव अब अघि नबढाउने कार्यसूची प्रस्तुत गरेका थिए। उक्त प्रस्तावअनुसार जग्गा र भवन दुवै स्वीकार नगरी दाताप्रति आभार व्यक्त गर्दै योजना फिर्ता गर्ने निष्कर्षमा एमाले पुगेको हो।
२०७८ असोजमा गुरुङले एमालेलाई उक्त जग्गा दान गर्ने र भवन निर्माण गरिदिने घोषणा गरेका थिए। तर यो प्रस्ताव सार्वजनिक भएपछि पार्टीभित्रै विवाद चुलिएको थियो। सोही विवादका क्रममा निर्णयको विरोध गर्ने नेताहरू डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन समेत गरिएको थियो।
हालको परिस्थितिमा गुरुङ स्वयं पनि आफ्ना प्रारम्भिक प्रतिवद्धताबाट पछि हटिसकेको नेताहरूले बताएका छन्। भाटभटेनीमा भएको आगजनी घटनापछि उनले आफ्नो प्रस्तावबाट फिर्ता लिएको दाबी गरिएको छ।
अब एमालेले आफ्नै स्वामित्वको बल्खुस्थित जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी गरेको छ। नयाँ भवन निर्माण नहुँदासम्म पार्टीले अस्थायी रूपमा भाडाको घर प्रयोग गर्ने विकल्प पनि अघि सारेको छ।
सर्वोच्च अदालतको पछिल्लो फैसलापछि बल्खुमा भवन निर्माण गर्न कानुनी बाधा नरहेको निष्कर्ष पनि पार्टीले निकालेको छ।
२०७२ सालको भूकम्पपछि भत्किएको केन्द्रीय कार्यालयका कारण एमाले विभिन्न स्थानमा भाडामा बस्दै आएको छ—पहिले धुम्बाराही, त्यसपछि थापाथली हुँदै च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा।
अब मदननगर, बल्खुमै नयाँ कार्यालय बनाउने निर्णयलाई महासचिव शंकर पोखरेलले यसअघि नै सार्वजनिक गरिसकेका थिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया