एमालेले जारी गर्यो झापा-५ मा केपी ओलीलाई भोट हाल्नैपर्ने ३० कारणहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ३ गते
एमालेले जारी गर्यो झापा-५ मा केपी ओलीलाई भोट हाल्नैपर्ने ३० कारणहरु

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली लाई मत दिनुपर्ने ३० वटा कारण समेटेर अपिल जारी गरेको छ। पार्टीको झापा–५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको यस अपिलमा राष्ट्रिय स्वाधीनता संरक्षणदेखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएका छन्।

“केपी शर्मा ओलीलाई किन भोट दिनुपर्छ?” शीर्षकको अपिलले मतदाता मनोबल उच्च राख्न र ओलीको जित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएको छ। अपिलमा भनिएको छ, “देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति र सुरक्षा सुनिश्चित गर्न ओलीलाई मत दिनुपर्छ।” साथै, झापा–५ मा सुरु भएका विकासका अधुरा योजनाहरू पूरा गर्न पनि अध्यक्ष ओलीको जित आवश्यक रहेको उल्लेख गरिएको छ।

अपिलले नवयुवालाई प्राविधिक शिक्षा प्रदान गरी स्वरोजगार र सीपमूलक विकास प्रवर्द्धन गर्न, सुस्ताएको अर्थतन्त्रलाई पुनःचलायमान बनाउन, कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भरता सुनिश्चित गर्न ओलीलाई मतदान गर्न आग्रह गरेको छ। यसैगरी, निर्माणाधीन एसियन हाईवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरा निर्माण कार्य सम्पन्न गर्न, दमक–रवि–चिसापानी सडकको निर्माण पूरा गरी जनजीवन स्तर उकास्न पनि ओलीको नेतृत्व आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ।

अपिलमा नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण पूरा गर्न, दमक, गौरादह र गौरीगन्ज बजारलाई स्मार्ट सिटीको रूपमा विकास गर्न, भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि ओलीलाई मत दिन अनुरोध गरिएको छ। साथै, रतुवा, मावा, कमललगायतका खोलाको तटबन्धन कार्य र दमक, गौरादह तथा गौरीगन्जका स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि अध्यक्ष ओलीको जित आवश्यक रहेको उल्लेख छ।

एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार, अध्यक्ष ओली र झापा–५ क्षेत्र आपसमा परिपूरक हुन्। उनका प्रत्यक्ष चिनेका मतदाता र स्थानीय स्तरमा रहेको सामीप्यताले चुनाव सहज जित सुनिश्चित गर्ने क्षमता राख्छ। अपिलले मतदातालाई सम्झाउने तथा घरदैलो अभियानमा पार्टी कार्यकर्ताका लागि सजिलो सामग्रीको रूपमा प्रयोग हुने बताइएको छ। प्रत्येक वडा स्तरमा कम्तीमा १५ सयवटा अपिल प्रतिलिपि वितरण हुने व्यवस्था गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स