पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन २० गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसमा आवेदन दिने आज (चैत ५) अन्तिम दिन हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता साधारण सेयर जारी गरेको छ। जसमध्ये १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ भने १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीहरूका लागि उपलब्ध गराइएको छ।
आयोजना प्रभावित बासिन्दाले न्यूनतम १० कित्ता देखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। यदि यी समूहका लागि छुट्याइएको सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारण समूहमा समावेश गरी पुनः निष्काशन गरिनेछ। यस आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
गोल्यान ग्रुप अन्तर्गतको यो सोलार कम्पनी हाल बाँकेमा १०-१० मेगावाट क्षमताका दुई सौर्य आयोजना सञ्चालन गरिरहेको छ, जुन २०८० सालदेखि नै व्यावसायिक उत्पादनमा छन्। कुल २० मेगावाट क्षमतासहित पियोर इनर्जी हालसम्मकै सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक कम्पनी बनेको छ।













प्रतिकृया