नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गभर्नर नियुक्तिमा अनावश्यक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।
जनतासँग माओवादी पार्टीद्वारा आयोजित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गभर्नरको पद तुरुन्तै भरिनुपर्ने भए पनि सरकारले नियुक्ति गर्न ढिलाइ गरेको र यसमा निहित स्वार्थका खेल भइरहेको दाबी गरे।
उनले भने, “गभर्नरको पद अत्यावश्यक हो, जुन तुरुन्तै नियुक्ति हुनुपर्थ्यो। तर अहिले सरकारले नियुक्ति गर्न नसक्नुको पछाडि अनेक चलखेल र प्रपञ्च लुकेको छ।”
प्रचण्डले वर्तमान सरकार जनताको हितभन्दा पनि भ्रष्टाचारको संरक्षण र प्रवर्द्धनमा लागेको आरोपसमेत लगाए।
“हामीले सरकारलाई ठूलो चुनौती दिइरहेका छौं। अघिल्लो सरकारबाट जनतामा आशा पलाएको थियो, तर त्यसको विरुद्ध अहिले गठबन्धन सरकार बन्यो,” उनले भने, “यो सरकारले भ्रष्टाचार मात्र संरक्षण गरेको छैन, आफैं पनि संलग्न भइरहेको छ। भूमिसम्बन्धी ऐन नै त्यसको उदाहरण हो।”
उनले सरकार राष्ट्र र जनताको हितविपरीत गइरहेको गम्भीर आरोपसमेत लगाए।
















प्रतिकृया