प्रधानमन्त्रीले नेपालले सीमा मिच्यो भन्नुभएको होइन: सरकारका प्रवक्ता पोखरेल

प्रधानमन्त्रीले नेपालले सीमा मिच्यो भन्नुभएको होइन: सरकारका प्रवक्ता पोखरेल

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको बचाउ गरेका छन्। उनले प्रधानमन्त्रीको भनाइलाई लिएर उठेको विवादबारे स्पष्ट पार्दै नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन्।

बुधबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक स्पष्टीकरण दिइसकेको बताए। नेपाल र भारतबीच सीमा सम्बन्धी विषय समाधान गर्न विभिन्न संयन्त्रहरू पहिलेदेखि नै क्रियाशील रहेको उल्लेख गर्दै उनले ती संयन्त्रमार्फत विवाद समाधानको प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

‘त्यो संयन्त्र पहिलेदेखि नै बनेको हो, अहिलेको सरकारले बनाएको होइन। सीमा विवाद कसरी समाधान गर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूले पनि भनिसक्नुभएको छ। नेपालले पनि भारतलाई र भारतले पनि नेपाललाई कूटनीतिक नोट पठाएको छ। दुई देश बसेर टेबल वार्तामार्फत सीमा विवाद समाधान गर्ने विषयमा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ,’ पोखरेलले भने।

पत्रकारहरूले नेपालले भारतको भूमि मिचेको प्रमाणबारे प्रश्न उठाएपछि पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिको सन्दर्भ स्पष्ट पार्ने प्रयास गरे। उनका अनुसार सीमा विवादका विषयमा छलफल अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा अतिक्रमण गरेको दाबी आएपछि प्रधानमन्त्रीले आफू अचम्मित भएको प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिच्यो भन्नुभएको होइन। यस्तो कुरा आउँदा आफू अचम्ममा परेको बताउनुभएको हो,’ पोखरेलले भने।

उनले कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने विषय सम्बन्धित संयन्त्रहरूबाटै उठाइएको दाबी गरे। त्यसैले दुवै देशबीच संवाद र कूटनीतिक पहलमार्फत सीमा विवाद टुंग्याउनुपर्ने प्रधानमन्त्रीको धारणा रहेको उनको भनाइ थियो।

यसअघि संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि मिचेको विषय थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइको आलोचना गर्दै स्पष्टीकरणको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स