सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो: वर्षमान पुन

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो: वर्षमान पुन

नेकपाका नेता वर्षमान पुनले सामाजिक सञ्जालको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरूको आयु लामो नहुने दाबी गरेका छन्। पार्टी निकट अखिल नेपाल महिला सङ्गठनको भेलालाई सम्बोधन गर्दै उनले वैचारिक र साङ्गठनिक आधारबिना स्थापित भएका शक्तिहरू चाँडै कमजोर हुने बताएका हुन्।

नेता पुनले सामाजिक सञ्जालको लहरबाट आएको समर्थन स्थायी नहुने टिप्पणी गरे। उनका अनुसार विचार, आन्दोलन, त्याग र बलिदानको जगमा बनेका दलहरू मात्र दीर्घकालीन रूपमा टिक्न सक्छन्।

‘सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ, देश हामीले नै सम्हाल्ने हो,’ नेता पुनले भने, ‘अस्ति भोट हाल्दा बुथमा मान्छे छैन, तर भोट गन्दा हजारौं छ। यो भर्चुअल दुनियाँ र अनलाइनको लहर मात्र हो। यस्तो शक्ति तीव्र रूपमा माथि जान्छ र त्यसरी नै तल खस्छ।’

नेता पुनले विगतको निर्वाचनमा मधेस प्रदेशमा बलियो उपस्थितिका साथ उदाएको जनमत पार्टी लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै तीव्र गतिमा उदाएका राजनीतिक शक्तिहरू समान रूपमा कमजोर हुने तर्क गरे। आगामी स्थानीय तह निर्वाचनसम्म पुग्दा नयाँ भनिएका धेरै शक्ति कमजोर हुँदै जाने र पुनः कांग्रेस, एमाले तथा माओवादीजस्ता स्थापित दलहरू अग्रस्थानमा आउने उनको दाबी थियो।

उनले मतदाताले नयाँ शक्तिलाई परीक्षण गर्ने अवसर दिए पनि अपेक्षित परिणाम नआएको अनुभव गर्न थालेको बताए। काम र परिणामबाट नेतृत्वको मूल्याङ्कन हुने भन्दै उनले केही नयाँ दलहरूको कार्यसम्पादनप्रति पनि प्रश्न उठाए।

साथै, नेता पुनले प्रविधि र सामाजिक सञ्जालको प्रयोगलाई अस्वीकार गर्न नहुने बताउँदै आफ्ना संगठनहरूलाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। तर सामाजिक सञ्जालमा देखिने आक्रामक र ध्वंसात्मक शैलीले लोकतन्त्रलाई बलियो नबनाउने उनको भनाइ थियो।

जनताको घरदैलोमा पुगेर वास्तविक मुद्दामा केन्द्रित हुन कार्यकर्ताहरूलाई आग्रह गर्दै उनले मुलुकको राजनीतिक स्थिरता, आर्थिक समृद्धि र दीर्घकालीन विकासका लागि स्थापित दलहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि संगठनको शक्ति र राजनीतिक एजेन्डाकै आधारमा देशले निकास पाउने विश्वास उनले व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स