दल फेरिए सत्ता फेरियो: सुदूरपश्चिम र कर्णाली सधैं किनारामा किन ?

दल फेरिए सत्ता फेरियो: सुदूरपश्चिम र कर्णाली सधैं किनारामा किन ?

सत्ता दल फेरिए, प्रधानमन्त्री फेरिए, नारा फेरिए

तर सुदूरपश्चिम र कर्णालीलाई हेर्ने नजर फेरिएन।

पहिले पनि “भौगोलिक रूपमा टाढा” भनेर बेवास्ता गरियो । आज पनि “राजनीतिक रूपमा कमजोर” भन्दै किनारामा राखिएको छ। सुदूरपश्चिम होस् वा कर्णाली

राज्यको दृष्टिमा यी क्षेत्र सधैं एउटै रहिरहे पर्खिरहने, सहिरहने र चुप लागिरहने भूगोल किन ?

के यो देश केही सीमित जिल्लामै अटिएको हो ?

के राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो देश, जनता र समाज बुझेर सुशासन, समृद्धि र समावेशीताको नारा बोकेर आशा जगाएको पार्टी पनि सीमित जिल्लामै केन्द्रित हुनु ठीक हो ? के त्यतिमै “राष्ट्रियता” पूरा हुन्छ ?

हिजो अरू दलका नेता र सरकारले पनि  सिमित ठाउँ, आफ्नै प्रभाव र आफ्नै स्वार्थका लागि समावेशी र समानुपातिक प्रणालीलाई प्रयोग गरे। राजनीति आत्मा–केन्द्रित बनाइयो,र राज्य संरचना सत्ता–केन्द्रित।

हिजो प्रचण्डले चितवन हेरे,

विष्णु पौडेलले रुपन्देही,

प्रकाशशरण महतले नुवाकोट,

केपी ओलीले झापा।

सत्ता जहाँ गयो, बजेट त्यतै बग्यो।

विकासको नक्सा सत्ता वरिपरि कोरियो,

तर सुदूरपश्चिम र कर्णाली सधैं नक्साको छेउमा परे।

सडकको नाममा धैर्य दिइयो,

स्वास्थ्यको नाममा आश्वासन,

शिक्षाको नाममा भाषण,

र रोजगारीको नाममा विदेश जाने बाध्यता—

दशकौँदेखि यहाँका जनताले पाएको “विकास” यही हो।

तर आज प्रश्न अझ गम्भीर बनेको छ।

किनकि अब समस्या केवल पुराना दलसम्म सीमित छैन।

“नयाँ राजनीति”को दाबी गर्ने शक्तिले समेत

पुरानै सोच दोहोर्‍याएको देखिँदैछ।

११० जनाको समानुपातिक सूचीमा

चितवन एकै जिल्लाबाट २१ र मोरङ जिल्लाबाट १३जना अट्छन्,तर पुरै सुदूरपश्चिम प्रदेशबाट जम्मा मात्र २ जना र कर्णाली प्रदेश बाट मात्र ३  !

यो केवल संख्याको प्रश्न होइन।यो राज्यको दृष्टिकोणको प्रतिविम्ब हो। यदि यही हो समानुपातिक प्रतिनिधित्व, भने संविधानको मर्म कहाँ हरायो ? भौगोलिक न्याय,क्षेत्रीय सन्तुलन र ऐतिहासिक रूपमा पछाडि पारिएको भूगोललाई क्षतिपूर्ति गर्ने सिद्धान्त कहाँ गयो ?

सुदूरपश्चिम र कर्णाली सधैं बलिदान दिन तयार रहे, मत दिन तयार रहे, देशका लागि छोराछोरी पठाउन तयार रहे तर निर्णयको टेबलमा पुग्दा किन सधैं अन्तिम पंक्तिमा ? अब यो प्रश्न भावनाको मात्र होइन, न्यायको प्रश्न हो। रास्वपाले जवाफ दिनुपर्छ। पुराना दलले पनि आत्मसमीक्षा गर्नुपर्छ। किनकि यदि “नयाँ” ले पनि पुरानै अन्याय दोहोर्‍यायो भने,फरक के रह्यो ?

देश सबैको हो भने, दृष्टि पनि सबैतिर बराबर हुनुपर्छ सुदूरपश्चिम र कर्णालीलाई दया होइन हक चाहिएको हो।

ई. दान बहादुर साउद

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स