केपी ओली नेतृत्वको कांग्रेश–एमाले गठबन्धनको सरकारले चालु आर्थिक वर्षको ८ महिनामा नेपालको सार्वजनिक ऋणमा साढे २ खर्ब थप गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशतको बराबरी हो। २०७८ को जनगणना र जनसंख्या वृद्धिदरका आधारमा, प्रति व्यक्ति ऋण ९० हजार ३२० रुपैयाँ रहेको छ।
पछिल्लो आठ महिनामा सार्वजनिक ऋण २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको छ। चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १५ अर्ब रुपैयाँ (जीडीपीको २३.०६ प्रतिशत) र बाह्य ऋण १३ खर्ब ६० अर्ब रुपैयाँ (जीडीपीको २३.८५ प्रतिशत) रहेको छ। आन्तरिक ऋणको हिस्सा ५०.८३ प्रतिशत र बाह्य ऋणको हिस्सा ४९.१६ प्रतिशत रहेको छ।
फागुन मसान्तसम्म, सरकारले आन्तरिक स्रोतबाट २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ र बाह्य स्रोतबाट ६५ अर्ब ४७ करोड रुपैयाँ ऋण संकलन गरेको छ। यस अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋणको सावाँ र २४ अर्ब ५० करोड रुपैयाँ बाह्य ऋणको सावाँ भुक्तानी गरिएको छ।
साथै, सरकारले ३६ अर्ब ९७ करोड रुपैयाँको आन्तरिक ऋणको ब्याज र ५ अर्ब ७७ करोड रुपैयाँ बाह्य ऋणको ब्याज पनि तिरेको छ। विदेशी विनिमय दरको उतार-चढावले पनि सार्वजनिक ऋणको वृद्धिमा असर पुर्याएको छ। विनिमय दरको कारण ६६ अर्ब २९ करोड रुपैयाँ ऋण बढेको छ। चालु वर्षको बजेट अनुसार, सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक र २ खर्ब १७ अर्ब बाह्य ऋण संकलन गर्ने लक्ष्य लिएको छ। फागुन मसान्तसम्म, आन्तरिक ऋण संकलनको लक्ष्य ८१.५६ प्रतिशत र बाह्य ऋणको लक्ष्य ३०.१७ प्रतिशत मात्र प्राप्त भएको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया