प्रधानमन्त्री सुशीला कार्कीले थप चार मन्त्री नियुक्तिका लागि आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गणपतिलाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम राष्ट्रपतिको कार्यालयमा पठाइएको हो।
सचिवालयले जनाएको अनुसार गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। यसअघि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने तयारी गरिएको थियो।
सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइनेछ। उनीहरूले आजै दिउँसो साढे २ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यी चार मन्त्री थपिएसँगै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बन्नेछ।
हालको मन्त्रिपरिषद्मा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार र सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल रहेका छन्।



















प्रतिकृया