सांसदहरुले सार्वजनिक बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् ।
सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए ।
सांसद सिंहले सार्वजनिक निकायमा मन्त्रीहरूको कार्यकक्ष बनाउने काम उचित नभएको उल्लेख गरे। त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए ।उनले विधेयकहरूलाई समयमा नै अघि बढाउन समिति गम्भीर हुनुपर्नेमा जोड दिए ।
बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजे मात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । उनले २४ वटा बुँदामा संशोधन दर्ता गरे पनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे ।विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशङ्का उत्पन्न भएको उनको भनाई छ ।
समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए ।सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गरे । उनले अर्को बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासँग छलफल गर्ने बताए ।



















प्रतिकृया