सरकारले हल्ला होइन काम पनि गरिरहेको छः उपप्रधानमन्त्री सिंह
नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बताएका छन्।
आइतबार नेपाली कांग्रेस धरान उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनसम्म यो गठबन्धन कायम रहने दाबी गरे। उनका अनुसार, सरकार गठनका बेला भएको सहमतिमा कांग्रेस र एमाले दुबै इमान्दार छन् र तत्काल सरकार परिवर्तन नहुने स्पष्ट पारे। सहमतिअनुसार, एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले दाबी गरे।
उनले भने, “आउने निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने कुरा दुबै पार्टीलाई थाहा छ। तर, परिस्थितिको आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो। हामी अहिले सँगै रहेर सरकार सञ्चालन गरिरहेका छौं।” सिंहले यसअघि पूरा गर्न नसकिएका विकास परियोजनाहरूलाई अहिलेको सरकारले अघि बढाइरहेको पनि बताए।
सिंहले संविधान संशोधन कुनै एक दलको चाहनाले मात्र सम्भव नहुने र यसका लागि सबै दलबीच छलफल जारी रहेको जानकारी दिए। उनले सरकार हल्ला नगरी काम गरिरहेको भन्दै यसअघि सम्पन्न गर्न नसकिएका आयोजनाहरूलाई सञ्चालनमा ल्याएको उदाहरण प्रस्तुत गरे।
सिंहका अनुसार, जनचाहनाअनुसार आर्थिक समृद्धि र विकास निर्माणका कामलाई सरकारको प्राथमिकतामा राखिएको छ।